प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिया शहरमा सम्पन्न ‘विकासका लागि वित्त’ (Financing for Development) शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली १४ असारमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलसहित स्पेन प्रस्थान गरेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, उनले स्पेनमा आयोजित उक्त सम्मेलनमा नेपालको तर्फबाट विकासशील राष्ट्रहरूको आवाज उठाउँदै, वित्तीय सहयोग, दिगो विकासका लक्ष्यहरू (SDGs), जलवायु वित्त, र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा महत्वपूर्ण धारणा व्यक्त गरेका थिए। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रप्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल पनि गरेका थिए।



सेभिया शहरमा भएको सम्मेलनमा भाग लिनेक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग नेपालको विकास आवश्यकताहरू र प्राथमिकताबारे स्पष्ट रूपमा अवगत गराएका थिए। उनले जलवायु परिवर्तन, हरित अर्थतन्त्र, दिगो पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका उच्च पदस्थ सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए। ती भेटघाटमा द्विपक्षीय सहयोग विस्तार, व्यापार र लगानी प्रवर्द्धन, पर्यटन, तथा सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको स्रोतको भनाइ छ।
स्पेन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएका हुन्। विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रिगण, सरकारी अधिकारी, सुरक्षाकर्मी, तथा प्रधानमन्त्रीका सल्लाहकारहरूको उपस्थितिमा उनलाई स्वागत गरिएको थियो।
प्रधानमन्त्रीको यस भ्रमणलाई नेपालले अन्तर्राष्ट्रिय कूटनीतिक मंचमा आफ्नो उपस्थिति सशक्त बनाउन सफल प्रयासका रूपमा हेरिएको छ। भ्रमणको पूर्ण विवरण तथा उपलब्धिहरू सरकारद्वारा छिट्टै सार्वजनिक गरिने बताइएको छ।



