भारतीय सुरक्षा अधिकारीहरू पछिल्लो समय कूटनीतिक माध्यमबाट भन्दा पनि आफ्नै ढंगले नेपाल प्रवेश गरेर आरोपित पक्राउ गर्न थालेका छन् । नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग समेत समन्वय नगर्दा भारतीय प्रहरी धमाधम पक्राउ पर्न थालेका छन् । इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्यूरो एनसीबी काठमाडौँमा छ। तर, कतै पनि समन्वय नगरी भारतीय प्रहरी लगातार नेपालका विभिन्न भूमिमा पुगिरहेको पाइएको छ । जेठ ३० गते शुक्रबार काठमाडौंको गोलढुंगा क्षेत्रबाट नेपाल प्रहरीले भारतीय प्रहरीका डीएसपीसहितको टोलीलाई नियन्त्रणमा लियो । हैदराबादमा भएको एक लुटपाटमा संलग्नलाई खोज्न डीएसपी नेतृत्वको भारतीय प्रहरी टोली काठमाडौं आएको थियो । उक्त टोलीलाई स्वयम्भु प्रहरीले समातेर दूतावासको जिम्मा लगाइदियो ।

२०८१ फागुनमा पञ्जावबाट ७ जना भारतीय प्रहरी काठमाडौँ आईपुगे । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ठमेलस्थित अलफ्ट होटलबाट नियन्त्रणमा लिएर भारतीय राजदूतावासको जिम्मा लगाइएको थियो ।उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरे पनि लमजुङमा कार्यरत डीएसपी निशान्त श्रीवास्तवसँग भेटघाट भएको खुल्यो । प्रहरी प्रधान कार्यालयले सो घटनाबारे छानबिन गरिरहेको छ।

२०८१ माघ १ मा काठमाडौँको ठमेलबाट चिनियाँ नागरिक युहुआन हुआन अपहरणमा परे। अपहरणमा संलग्नमध्ये केही भारतीय प्रहरीसमेत थिए । उनीहरुलाई मकवानपुरको भीमफेदीबाट उपत्यका अनुसन्धान कार्यालयका प्रहरीले पक्राउ गर्‍यो । चिनियाँ नागरिकले अनलाइन स्क्याम मार्फत करिब ४ करोड ठगेको कसुरमा चिनियाँ खोज्दै भारतीय प्रहरीहरू ठमेल आइपुगेका थिए । उनीहरू अहिले काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन्।

२०८१ असार २ गते सादा पोशाकका पाँच जना प्रहरीले जनकपुरधामको रामानन्दचोक स्थित एउटा घरबाट एक महिलालाई नियन्त्रणमा लिई रातरात भारत फर्किए । त्यहाँ भारतीय प्रहरीलाई जानकी प्रहरी चौकीकै एक सई र एक हवल्दारले सहयोग गरेको खुल्यो ।

भारतीय प्रहरी बिनाइजाजत नेपाल छिरेर कसैलाई पक्राउ गरेर भारत लैजाने काम पटकपटक हुने गरेको छ ।कतिपय अवस्थामा नेपाल प्रहरीका अधिकृतहरूले नै भारतीय प्रहरीको जिम्मा लगाइदिएका घटना पनि छन् ।

२०६३ असार २७ गते भारतको मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भएलगत्तै प्रहरीले काठमडौँबाट चार पाकिस्तानीलाई पक्राउ गरेको थियो। तीमध्ये असिम अली र वालिदलाई रातारात वीरगन्ज पुर्‍याएर भारतीय गुप्तचरको जिम्मा लगाइएको थियो । त्यस्तै २०६४ भदौ २९ गते थानकोटमा भारतीय नागरिक वेदराज मिश्र, घनश्याम मिश्र र रेनु पाललाई बिनासोधपुछ भारतीय प्रहरीको जिम्मा लगाइएको थियो ।

केही समयअघि नेपाल प्रहरीले भारतमै गएर तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । तर प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी उक्त कार्य सम्पन्न गरेको बताउँछ । तर भारतीय प्रहरी भने समन्वय नै नगरी नेपाल छिरेर आरोपीहरु समाउने गरेको छ । नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण देखाउँदै बिनाजानकारी भारतीय प्रहरी नेपाल प्रवेश गरेर मान्छे लैजानु देशको फितलो सुरक्षा संयन्त्रको उदाहरण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय