बाँके । कान्ति ताल कुनै समय स्थानीयको सिँचाइको स्रोत थियो । नेपालगञ्जको शहरको बीच भागमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय र विदेशी चराका लागि बासस्थान तथा प्रजननको थलो बनेको छ ।

कान्ति ताल चरा अध्ययनका लागि प्रसिद्ध छ । विज्ञहरू यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’ को रूपमा विकास गर्न सकिने बताउँछन् । यो तालमा मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय, अधिकारकर्मीलगायतले विरोध गरेपछि डुङ्गा चलाउने योजना रोकिएको छ ।

विशेषगरी सारसका लागि यो क्षेत्र महत्त्वपूर्ण छ । सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोल हो । त्यसमध्ये पनि कान्ति ताल सबैभन्दा राम्रो बासस्थान बनेको छ । नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्रै नभई विभिन्न देशबाट वर्षेनी आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासस्थान बनेको छ । तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी जाडो र गर्मी छल्न विभिन्न देशबाट वर्षेनी चराहरू आउने गरेका छन् ।

दुर्लभ चराको बासस्थान रहेको कान्ति ताल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि मोटरबोट सञ्चालनको प्रक्रिया सुरु भएपछि संरक्षणविद्ले चासो व्यक्त गर्दै उपमहानगरमै उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए । उनीहरूले तालमा मोटरबोट सञ्चालन गर्नुको साटो चरापार्क निर्माण गरी आम्दानी गर्न सकिने सुझाव पनि दिएका छन् ।

मोटरबोट सञ्चालन भएमा पर्यावरणमा क्षति पुग्नुका साथै चराचुरुङ्गी यहाँबाट लोप हुने भएकाले उनीहरूको संरक्षणका लागि भए पनि मोटरबोट सञ्चालन गर्न हुँदैन । कान्ति तालमा पन्छी संरक्षण समाज र नेपाल चराविज्ञ संघले केही समयअघि गरेको अध्ययनले एक घण्टामा ३२ प्रकारका परम्परागत चरा र केही आगन्तुक चरा देखिएको बताएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कान्ति तालमा जाडोमा १५३ र गर्मीयाममा ६२ प्रजातिका चराहरु देखिएको जानकारी दिनुभयो ।

कान्ति तालमा हरेक वर्ष चराको गणना हुन्छ । दुई वर्षअघि २५ प्रजातिका चरा रहेकामा गत वर्षको गणनामा २२ प्रजातिका चरा भेटिएका थिए । यस वर्ष भने चराको सङ्ख्या ३२ पुगेको छ भने गत वर्षको तुलनामा यो वर्ष चराको संख्या बढ्ने देखिन्छ ।

तालमा सारस, फिसिङ क्याट, मलाहलगायतका चराको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया र इन्डोनेसियाबाट चरा आउँछन् भने जोडोमा साइबेरिया, उत्तरी चीनबाट चरा आउँछन् । आगन्तुक चराले पनि तालमै बच्चा जन्माउँछन् । यस ताललाई चरा अवलोकनको केन्द्र तथा जैविक विविधता सिकाई केन्द्रका रूपमा विकास गर्न सकिने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय