लुम्बिनी । गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौं लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबीच पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको लगभग दुई वर्ष पुगिसक्दा पनि कार्यान्वयनमा आउन नसक्दा बुटवल उपमहानगरपालिकाभित्र बनेको करोडौंको परियोजना अलपत्र परेको हो ।
बधशाला निर्माणपश्चात् यसको दिगो सञ्चालनका लागि ‘४ पी मोडल’ सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यमा बधशाला सञ्चालन हुने भनिए पनि बुटवल उपमहानगरपालिकाले फरक ढङ्गले निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएपछि यसको सञ्चालनमा अन्यौलता भएको हो । बुटवल उपमहानगरपालिकाका र बधशाला सञ्चालनको ठेक्का पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबीच २०८० असोज १ गते सझौता भएको थियो ।
बधशाला सञ्चालनको जिम्मा पाएको मुक्तिनाथ लाइभस्टकसँग पाँच वर्षका लागि भएको सझौतामा वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने र हरेक वर्ष १० प्रतिशतका दरले रकम बृद्धि हुने उल्लेख छ । तर सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि बधशाला व्यावसायिक रुपमा सञ्चालनमा आउन सकेको छैन ।
तत्कालीन सम्झौतामा बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थानमा व्यावसायिक रूपमा खसी, बोका र बाख्राको बध गर्न रोक लगाउने, व्यवसायीले आफ्ना खसी, बोका र बाख्राको जथाभावी बध गरेको पाइए कारबाही हुने उल्लेख छ । सोही अनुसार बुटवल उपमहानगरपालिकाले पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन, २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन, २०५५, फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ को पालना गरिने सम्झौतामा उल्लेख छ । तर सझौताअनुसार व्यावसायिक प्रयोजनका लागि बधशालामा बध गर्नुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा बधशाला सञ्चालन गर्नसक्ने अवस्था नरहेको मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश आचार्यले जानकारी दिनुभएको छ ।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा निर्माण भएको बधशाला २०७७ असार ३१ गतेदेखि बुटवल उपमहानगरपालिकाले यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्ने नमूना परियोजनाका रूपमा बधशालाको निर्माण गरिएको थियो । बधशाला निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ मा लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सात करोड, बुटवल उपमहानगरपालिकाको तीन करोड गरी १० करोड रुपैयाँको बजेटमा बहुवर्षीय योजनाका रुपमा परियोजना अगाडि बढेको हो । परियोजना कुल लागत २२ करोड १३ लाख रुपैयाँमा सम्पन्न भएको छ ।
बधशाला पूर्ण रूपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार खसीबोका खपत हुने क्षमताको रहने छ । यसैगरी, यसमा हरेक दिन २५० खसीबोका चिस्यान गर्न सकिने, एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने र प्रतिदिन दुई दशमलव पाँच मेट्रिक टन क्षमताको बायो–डाइजेस्टर सञ्चालनमा आउने योजना छ । यहाँबाट निस्किने फोहर प्रशोधन गरेर बायोग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गर्ने योजना छ ।



