काठमाडौं । चन्द्रागिरि नगरपालिकालाई सरकारले विमा बापतको रकम नदिएपछि नगरको स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले लामो समयदेखि स्वास्थ्य बीमाको रकम निकासा नगरिदिएपछि चन्द्रागिरि नगरपालिकामा अहिले स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा समस्या देखिएको हो ।




स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका लागि सरकारले चन्द्रागिरि नगरपालिकालाई ३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारको स्वास्थ्य वीमा कार्यक्रमअन्तरगत नगरपालिकाले खर्च गर्दै आएको तर वीमा बापत पाउनु पर्ने रकम भुक्तानी नपाएपछि नगरपालिकामा रकम अभाव हुँदा औषधि खरिदमा समेत समस्या उत्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिका थानकोट प्राथमिक अस्पतालका सूचना अधिकृत सुरेन्द्र श्रेष्ठले सरकारले स्वास्थ्य विमा अन्तरगत नगरपालिकाकाले पाउनु पर्ने ३ करोड रुपैयाँ उपलब्ध नगराउँदा नगरमा औषधि अभाव हुन थालेको जानकारी दिनुभयो । स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर, सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम दिनहुँ बढ्दै गएको छ । उहाँले भुक्तानीका लागि सरकारसँग पटक पटक माग गर्दा पनि सुनुवाई नहुँदा रकम अभावले अस्पतालमा औषधि तथा उपकरण खरिद तथा अन्य नियमित काममा समस्या पर्न थालेको जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्छन्, उहाँहरूलाई सेवा दिनैपर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको उहाँ बताउनु हुन्छ । सुचना अधिकारी श्रेष्ठले नगरपालिकाले जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको अबका दिनमा संकट सिर्जना हुन थालेको उल्लेख गर्नुभयो । साथै उहाँले पैसा हुँदा पनि औषधि खरिद प्रक्रिया अति नै झन्झाटिलो भएकोले औषधि बेलाबेलामा यसअघि पनि अभाव हुने गरेको बताउनु भयो ।

एक परिवारका लागि ३ हजार ५ सय रुपैयाँको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले १ लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेको साधारण परिवारको हकमा प्रतिसदस्य थप ७ सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा एक लाख रुपैयाँमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम २ लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढ्दै गएको छ ।



