पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको अध्यक्ष पद ताकेर राजनीतिमा सक्रिय बनेपछि अध्यक्ष केपी शर्मा ओलीसहित उहाँ पक्षीय नेताहरु प्रतिवादमा उत्रिन थालेका छन् । अध्यक्ष ओलीले गृहजिल्ला झापा पुगेर भण्डारीको सक्रियता लक्षित अभिव्यक्ति दिनुभएको छ । ओलीको अभिव्यक्तिसँगै अब संस्थापन पक्ष प्रतिवादका लागि तयार बनेको संकेत मिलेको छ ।
आइतबार गृह जिल्ला झापा पुग्नुभएका प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूबिनाको एमाले सम्भव नभएको उद्घोष गर्नुभएको छ । तीन दिनअगाडि मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमा अध्यक्ष बन्ने गरी नै राजनीतिमा पुनरागमन गरेको एक अन्तर्वार्तामा बताउनुभएको थियो ।



भण्डारीले यसै महिना मदनजयन्तीको अवसर पारेर एमालेमा सक्रिय भएको घोषणा गर्नुभएको थियो । भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेलगत्तै एमालेमा स्पष्ट दुई धार देखिएको छ । अनि भण्डारीको पक्षमा देखिएको धारले ओलीको बिदाइ निश्चित रहेको बताउँदै आएको छ । एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको र त्यो सफल नभएको ओलीको आरोप छ । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलामा ओलीले एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेको कामना पुरा नहुने जिकिर गर्नुभयो ।
यता महासचिव शंकर पोखरेल पनि उसैगरी प्रतिवादमा उत्रिनुभएको छ । च्यासलमा आयोजित पार्टी केन्द्रीय विभागको संयुक्त भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको विधान परिवर्तन भयो भन्ने भ्रममा नपर्न कार्यकर्तालाई सचेत गराउनु भयो । पार्टीको विधानबाट ७० वर्षे उमेर हद हटाउनु सबै नेता कार्यकर्ताको कर्तव्य भएको उहाँको जिकिर छ ।
पूर्वराष्ट्रपति भण्डारीको एमाले पुनरागमनसँगै ७० वर्षे उमेर हद लागू गर्ने चर्चा छ । विधानमा रहेको ७० वर्षे उमेर हद हटाउने निर्णय सचिवालय बैठकले गरिसकेको छ । पोखरेलले सोही निर्णय कार्यान्वयन गर्दै विधान संशोधन गर्न चाहनु भएको हो । उक्त व्यवस्था विधानबाट संशोधन गरेमा ओलीलाई फेरि पनि अध्यक्षको दाबेदार बन्न सहज हुनेछ । एमालेले आगामी भदौ २०देखि २२ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्दैछ । अधिवेशनले उमेर हद, पूर्वविशिष्टहरुको पार्टी सदस्यतालगायतका विषयमा विधानमै व्यवस्था गर्ने अनुमान छ । यही अधिवेशनको तयारी हुँदै गर्दा एमालेमा ओली र भण्डारी पक्षहरु एक-अर्काविरुद्ध वादप्रतिवादमा उत्रिन थालेका हुन् ।



