तराई–मधेसमा फैलिएको भीषण खडेरी, सिँचाइको चरम अभाव र भूमिगत पानीको सतह झनझन् घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मधेस कृषि–जल आन्दोलन संघर्ष समितिुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी किसान तथा अधिकारकर्मीहरूले ब्यानर र प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूको आरोप छ— मधेस क्षेत्र वर्षौंदेखि कृषि संकटको चपेटामा पर्दै आए पनि सरकारले अहिलेसम्म कुनै दीर्घकालीन योजना ल्याउन सकेको छैन।

सिँचाइ बिना अन्न फल्दैन, भूमिगत पानी सुक्दै जाँदा खेती सम्भव छैन, अनि हाम्रो जीविका कसरी चल्छरुू भन्दै आन्दोलनकारीहरूले आक्रोश पोखेका थिए। संघर्ष समितिका संयोजक श्याम यादवले भने, सरकारले काठमाडौं केन्द्रित विकास मात्र गरेर तराईको कृषि संकटप्रति आँखा चिम्लिएको छ। हामी यो बेवास्ताविरुद्ध सडकमा उत्रिन बाध्य भयौं। तराईका जिल्लाहरू— सिरहा, सप्तरी, महोत्तरी, रौतहट लगायतमा हाल व्यापक खडेरी परेको छ। धान रोपाइँ प्रभावित बनेको छ भने हजारौं किसान वर्षेनी घाटामा परिरहेका छन्। संघर्ष समितिले तत्काल खडेरी प्रभावित क्षेत्रमा आपतकालीन सिँचाइ सुविधा, भूजल संरक्षण कार्यक्रम, तथा दीर्घकालीन कृषि नीति ल्याउन सरकारलाई माग प्रस्तुत गरेको छ। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सहभागीहरूले आगामी दिनमा दबाबमूलक कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय