काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं. ५ र ७ को भवन निर्माण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रयोजनका लागि भवन बनाउन जग्गा दिने निर्णय गरेसँगै चन्द्रागिरि नगरपालिकाको वडा नं. ५ र वडा नं. ७ को भवन निर्माणका लागि बाटो खुलेको हो ।
१५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकाका अन्य १३ वटा वडा कार्यालयहरुले आफ्नै प्रशासनिक भवनबाट सेवा दिइरहेका छन् । तर, वडा नं. ५ र ७ ले भने भाडाको घरबाट सेवा दिइरहेका थिए ।



यसैबीच, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सामाजिक सञ्जालमार्फत् धेरै लामो समयावधिको निरन्तर सक्रियता तथा अथक मेहेनत र प्रयास पश्चात नगरपालिकाको वडा नं. ५ र ७ को वडा कार्यालय भवन निर्माण गर्न ३÷३ रोपनी गरी ६ रोपनी जग्गा नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट प्राप्त भएको जानकारी दिनुभएको छ । उहाँले दुबै वडाका भवन यसैवर्ष निर्माण सुरु गरी यथाशीघ्र निर्माण सम्पन्न गरिने पनि उल्लेख गर्नुभएको छ । साथै प्रमुख गिरीले जग्गा प्राप्तीमा साथ र सहयोग पुर्याउने सबैमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।



