भारतको उत्तराखण्ड प्रदेशको बाढीपहिरोमा परेका नेपालीको उद्धारका लागि सरकारले कूटनीतिक प्रयास थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताउनु भएको छ । साथै नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उहाँले जनाउनु भयो । नेपाली दूतावासले भने हालसम्म पाँच जनामात्र बेपत्ता भएको जनाएको छ । उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा गएको भिषण बाढी पहिरोमा कोही नेपाली नपरेको जनाएको छ । हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको उल्लेख गर्दै दूतावासले जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको जनाएको हो ।



साथै, उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा भने ५ जना नेपालीहरू हराइरहेको जनाएको छ । त्यही स्थानमा घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीलाई उदृत गर्दै दूतावासले उल्लेख गरेको छ । यता, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको बताउनुभयो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि बाढीमा परी हराएका भनिएका नेपालीको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल शुरु भैसकेको जानकारी बताउनु भएको छ । बाढीपहिरोपछि जाजरकोटका १३, बर्दिया र धादिङका ४-४ र जुम्लाका एक जना गरी कम्तिमा २२ जना नेपाली सम्पर्कविहीन भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेका छन्। धादिङको ज्वालामुखी गाउँपालिका -२ का ४ जनाको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ । यसअघि जाजरकोटको कुशे गाउँपालिका-२ का १३, बर्दिया मधुवन नगरपालिका-६ का ४ र जुम्लाको तिला गाउँपालिकाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको छ ।



