काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशैभरका शिवालयमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएकोले विहान देखि नै दर्शनको लागि घुइँचो लागेको छ ।
विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाईनको व्यवस्था गरिएको छ । पहिलो गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौंथो पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।



साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल शौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
विवाहित महिलाले श्रीमान दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने प्रचलित छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ ।



