काठमाडौं । चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि २४ लाख ५० हजार घुस माग गरेको अभियोगमा प्रमुख मालपोत अधिकृतविरुद्ध आरोप पत्र दर्ता भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीबाट उजुरीका आधारमा अनुसन्धान गर्दै उक्त कार्यालय परिसरबाट दुबै जनालाई सो रकमसहित नियन्त्रणमा लिएको हो । टोलीले आचार्य र राउतको मोबाइल डिभाइस तथा उक्त रकम बरामद गरेको आयोगले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरूद्वारा साविक चाँगुनारायण गाविस वडा नं. ५ ख स्थित १४–४–०–० क्षेत्रफलको जग्गामा मोही बाँडफाँड – नामसारीका लागि सहज वातावरण बनाइदिने बहानामा सेवाग्राहीसँग मिलेमतोमा घुस माग गरिएको पुष्टि भएको आयोगको ठहर छ ।



अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आरोपीद्वयले पूर्व योजना अनुसार २४ लाख ५० हजार घुस लिएको पुष्टि भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो । उनीहरूलाई उक्त ऐन अनुसार कैद र बिगो अनुसार जरिवानाको मागदाबी गरिएको छ ।



