काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत थिए । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५ सय ५३ रूपैयाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको हो ।



सो अवधिमा यादव र उनका परिवारको नाममा दुई करोड ६८ लाखभन्दा बढीको आय देखिए पनि खर्च तथा लगानी रकम तीन करोड ६५ लाखभन्दा बढी पुगेको र स्रोत नखुलेको सम्पत्ति पाइएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग दाबी गरिएको छ । साथै, सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति उनकी श्रीमती आशाकुमारी यादवको नाममा राखिएको पाइएकाले उनलाई समेत प्रतिवादीका रूपमा कायम गरिएको छ ।



