काठमाडौं । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुखसहित पाँच जना घाइते भएका छन् । देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख प्रेमलाल कानुसहित पाँच जना घाइते भएका हुन् । घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ । अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
नगरप्रमुख कानु पक्षले रिवन काटेर मेलाको उद्घाटन गर्ने तयारी गर्दा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको बताएको छ ।






