काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ बालश्रम मुक्त वडा घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बेलुन उडाएर वालश्रम मुक्त वडा घोषणा गर्नुभएको हो । नगरमा अब दुई वटा वडामात्र बालश्रम मुक्त वडा घोषणा हुन बाँकी रहेको बताउँदै नगरप्रमुख गिरीले नगरको १५ वटै वडा बालमैत्री सुशासन व्यवस्थापन भएपछि चन्द्रागिरि नगरपालिका बालश्रम मुक्त नगरको घोषणा गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणाले वडा र नगरपालिकामाथि थप जिम्मेवारी थपिएको बताउनु भयो । उहाँले नगर र वडाको संयुक्त अनुगमनमा यस वडामा बालश्रमिक नभेटिएपछि बालश्रम मुक्त वडा घोषणा गरिएको बताउनु भयो । उपप्रमुख श्रेष्ठले वडा बाल श्रम मुक्त भएकोले बालबालिकालाई काममा नराख्न र काम नगराउन वडाबासीलाई चेतावनी दिनुभयो ।




यसैगरी बालश्रम मुक्त वडा घोषणा सभाका सभापति वडा नम्बर १३ का वडा अध्यक्ष श्रीकृष्ण खत्रीले वडालाई बालश्रम मुक्त घोषणा गर्नका लागि लगातारको प्रयासपछि सफल भएको बताउनु भयो । उहाँले बालश्रम मुक्त वडा घोषणा गर्नको लागि वडामा रहेका संघसंस्था, उद्योगी व्यवसायी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, विद्यालय, संचारकर्मी, वडाबासीलगायतको सहयोगबाट सम्भव भएको उल्लेख गर्नुभयो । अध्यक्ष खत्रीले बालश्रम मुक्त वडा घोषणा भएसँगै वडा भित्र बालबालिकालाई काममा नलगाउन, नराख्न पनि आग्रह गर्नुभयो । उहाँले बालश्रम भेटिए कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ को आयोजना वडा स्तरीय बाल अधिकार समितिको समन्वय र वल्र्ड भिजनको सहयोगमा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।



