काठमाडौं । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगञ्ज–पथलैया सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सिमराबाट पथलैया जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ०६–००३ प्र १७५३ नम्बरको मोटरसाइकल ठोकिँएका हुन् । दुर्घटनामा सप्तरी, बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित र रौतहट जिल्ला गुजरा गाउँपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरीको उपचारकोक्रममा मृत्यु भएको हो । पण्डितको परवानीपुरस्थित एलएस न्युरो अस्पताल र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारकोक्रममा मृत्यु भएको हो ।



दुर्घटनामा सोही मोटरसाइकलमा सवार ३४ वर्षीय भूपेन्द्र चौधरी गम्भीर घाइते भएका भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



