गृहमन्त्री रमेश लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अटुट भूमि भएको दोहोर्याउँदै भारत–चीनबीचको व्यापारिक सम्झौताप्रति नेपालले राखेको आपत्तिलाईसही ठहर गरेका छन्। नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले सो क्षेत्रसम्बन्धी भारत र चीनको द्विपक्षीय सम्झौता नेपालको राष्ट्रिय हितविपरीत भएको उल्लेख गरे। उनले भने, प्रधानमन्त्री केपी ओलीले त्यसबेला राखेको अडान सही थियो। नेपालले आफ्नै भूमि भनेर आवाज उठाउँदा कुनै छिमेकीसँग सम्बन्ध बिग्रिन्न।



आतंकवाद र छिमेकी नीति
हालै पाकिस्तानका आतंकवादीहरू नेपाल हुँदै भारत प्रवेश गरेको भन्ने हल्लामा कुनै सत्यता नरहेको भन्दै गृहमन्त्री लेखकले स्पष्ट पारे, “उनीहरू मलेशिया गएका देखिन्छन्, नेपाल प्रयोग भएको भन्ने आरोप गलत हो।”भारत र चीनविरुद्धको गतिविधिमा नेपाली भूमि प्रयोग हुन नदिने सरकारको स्पष्ट नीति रहेको उनको भनाइ थियो। गृहमन्त्री लेखकले नेपालको संविधान र लोकतन्त्र खतरामा रहेको भन्दै त्यसको संरक्षणमा सरकार गम्भीर रहेको बताए। “राजा वा राजतन्त्र फर्काउने प्रयासहरू भइरहेकाले सावधानी आवश्यक छ,” उनले चेतावनी दिए।
१३ महिनाको कांग्रेस–एमाले गठबन्धन सरकार सफल रहेको दाबी गर्दै उनले भने, “सरकारले स्थायित्व पाएको छ, अर्थतन्त्र लयमा फर्कन थालेको छ, र शान्ति सुरक्षा सुदृढ बन्दै गएको छ।” वीरगन्जमा फैलिएको हैजाको अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री लेखकले संक्रमण नियन्त्रण उन्मुख रहेको बताए। उनले हालै वीरगन्जको अस्पताल भ्रमण गरेका थिए र बिरामी तथा चिकित्सकहरूसँगको संवादबाट अवस्था सामान्य हुँदै गएको जानकारी दिएका हुन्। हैजाको कारण पत्ता लगाउन विज्ञ टोली परिचालन गरिने पनि उनले बताए।
पत्रकार सम्मेलनमा प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी र ओमप्रकाश शर्मा लगायतको उपस्थिति थियो।



