सरकारद्वारा संघीय संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय संचालकहरूले देशभर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले विधेयकले निजी क्षेत्रको पहिचान मेटाउने, लगानीको सुरक्षा नहुने, र शिक्षालाई राजनीति नियन्त्रणमा लैजान खोजेको आरोप लगाउँदै तत्काल विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन्। नेपाल भरका निजी विद्यालयहरू संगठित संस्था प्याब्सन, एनप्याब्सन लगायत विभिन्न शिक्षा क्षेत्रका सरोकारवाला संघसंस्थाको अगुवाइमा आन्दोलन चर्किएको हो। प्रदर्शनमा सहभागीहरूले विधेयकको धारा १२, १३, १६, ४२ लगायतका प्रावधानहरू निजी क्षेत्रविरोधी रहेको उल्लेख गर्दै ती संशोधन गर्नुपर्ने माग गरेका छन्।



सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरूलाई ‘सामुदायिक’ या ‘संस्थागत (नाफारहित)’ रूपमा रूपान्तरण गर्नुपर्ने, सञ्चालक समितिमा स्थानीय तहको भूमिका रहने, विद्यालयको सम्पत्ति निजी स्वामित्वमा नरहने लगायतका व्यवस्थाहरू समावेश छन्। निजी क्षेत्रले यी प्रावधानलाई आफ्नो लगानी र स्वामित्वमाथि प्रहारका रूपमा बुझेका छन्। प्रदर्शनमा सहभागी शिक्षा व्यवसायीहरूको भनाइमा, उक्त विधेयक नेपालको संविधानले दिएको निजी क्षेत्रको अधिकारविपरीत छ। प्याब्सनका अध्यक्षले भने,यो विधेयक लागू भएमा हजारौं लगानीकर्ता, शिक्षक, कर्मचारी र विद्यार्थीको भविष्य अन्योलमा पर्छ।
सरकारको तर्फबाट शिक्षामन्त्रीले विधेयकलाई सबै पक्षसँग छलफल गरेर संशोधन गर्न सकिने संकेत दिएका छन्। तर, निजी विद्यालयहरू भने मौलिक मर्म परिवर्तन नगरी सहमत नहुने अडानमा छन्। प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरिसकेका छन्। विद्यालयमा सांकेतिक बन्द, शिक्षकमार्फत दबाब, अभिभावकलाई जानकारी अभियान, र अन्ततः सडक आन्दोलनसम्मको कार्यक्रम तय गरिएको छ।
विद्यालय शिक्षा विधेयकले शिक्षालाई एकीकृत र समान बनाउन खोजेपनि यसको कार्यान्वयन पद्धति, स्वामित्वको संरचना र निजी क्षेत्रको सहभागिताबारे स्पष्ट दृष्टिकोण नदिइएकाले विवाद चर्किएको छ। सरकारले अब समावेशी संवाद गरेर सबै पक्षको चासो समेट्ने प्रयास नगरे निजी शिक्षामा अराजकता बढ्न सक्ने खतरा देखिएको छ।



