काठमाडौँ — नेपाल सरकारले आजदेखि दर्ता सूचीकरण नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले तत्काल प्रभावबाट फेसबुकसहितका असूचीबद्ध सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेको हो।




यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरणमा आउन निर्देशन दिएको थियो। तर तोकिएको समयसीमा भित्र आवश्यक प्रक्रिया पूरा नगरेपछि सरकारले आजदेखि कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
सरकारको भनाइमा सामाजिक सञ्जाल सूचीकरणको उद्देश्य नेपालको कानूनी दायराभित्र रहेर प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्नु, कर प्रणालीलाई सहज बनाउनु र आपराधिक गतिविधि तथा अनलाइन दुरुपयोग नियन्त्रण गर्नु हो। सूचीकरण प्रक्रियाअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा आफ्नो आधिकारिक प्रतिनिधि तोक्नुपर्ने, प्रयोगकर्ता डाटा सुरक्षा सम्बन्धी प्रावधान पालना गर्नुपर्ने र करसम्बन्धी दायित्व पूरा गर्नुपर्ने हुन्छ।
मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “नेपालमा सञ्चालनमा रहेका वैधानिक र सूचीकरणमा आएका सामाजिक सञ्जाल भने सञ्चालनमा रहन्छन्। तर असूचीबद्ध सञ्जाल अब नेपालमा प्रयोग गर्न पाइने छैन।”यद्यपि, यस निर्णयले सामान्य प्रयोगकर्तामा तत्काल असर गर्ने सम्भावना देखिएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, ‘एक्स’ ९पूर्व ट्विटर० लगायतका लोकप्रिय सामाजिक सञ्जाल सूचीकरणमा कहाँसम्म पुगेका छन् भन्ने स्पष्ट तथ्यांक भने सार्वजनिक गरिएको छैन।
यसैबीच, विज्ञहरूले सूचीकरणको उद्देश्य सकारात्मक भए पनि यसलाई कार्यान्वयन गर्दा पारदर्शिता र सार्वजनिक जानकारी दिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूको भनाइमा नेपालमा करोडौँ प्रयोगकर्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने सामाजिक सञ्जाल बन्द हुँदा व्यवसाय, सञ्चार र व्यक्तिगत जीवनमा ठूलो प्रभाव पर्न सक्छ।



