काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धमा निर्देशन जारी गरेको छ । प्राधिकरणले सहकारी ऐन २०७४ को दफा ३९(२) बमोजित बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभालाई सदस्य केन्द्रित र मितव्ययी बनाइ सुशासन कायम गर्न आवश्यक देखिएकाले निर्देशन जारी गरेको जनाएको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभामा सहकारी संस्थाको नियमन, अनुगमन वा सुपरीवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित कुनै पनि निकायका गैर सदस्य, कर्मचारी वा पदाधिकारी सहभागी हुन नहुने र नगराउन समेत निर्देशन दिएको छ । त्यसो गरेमा त्यस्ता पदाधिकारीहरुको सहभागितालाई स्वार्थको द्वन्द्व मानिने प्राधिकरणले जनाएको छ ।





यसैगरी साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन, आसनग्रहण वा अतिथिका रुपमा मन्तव्य जस्ता औपचारिक कार्यक्रम नगरी सिधै साधारण सभाको छलफल एजेण्डामा प्रवेश गर्न पनि निर्देशन दिएको छ । यस्तै, साधारण सभामा उद्घाटन अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार, भोजभतेरमा फजुल खर्च कटौती गर्न पनि प्राधिकरणको निर्देशन छ । तर, सदस्यहरुको सामान्य खाजा÷खानाको व्यवस्था गर्न भने प्राधिकरणले छुट दिएको छ । सहकारीको संस्थाको कार्यक्षेत्रभित्र सदस्यहरुलाई पायक पर्ने स्थानमा साधारणसभा गर्न पनि निर्देशन जारी गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानून तथा प्राधिकरणको निर्देशन बमोजिम साधारण सभा सम्पन्न गरी त्यसको एक महिनाभित्र विद्युतीय प्रणालीमार्फत संक्षिप्त प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ । प्राधिकरणले निर्देशनको पालना नभए कानून बमोजिम कारवाही गर्ने पनि जनाएको छ ।



