नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोदावरीमा जारी विधान महाधिवेशनमा राजनीतिक दस्तावेज पेश गर्दै नेपाली कांग्रेसलाई ‘टेस्टेड’ र माओवादी केन्द्रलाई वैचारिक नेतृत्वका लागि बाहिरिसकेको दलको रूपमा चित्रण गर्नुभएको छ। ओलीका अनुसार, कांग्रेसले आफ्नो बहुमतमा पनि क्रान्तिका उपलब्धि जोगाउन सकेन भने माओवादी केन्द्र वैचारिक, संगठनात्मक र चारित्रिक रूपमा कमजोर बनेको छ। हेरौं ओलीको नजरमा अन्य दल को कस्ता ?

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमार्फत आफू र पार्टीलाई ‘समाजवादको आधार निर्माण गर्ने एकमात्र विकल्प’ को रूपमा उभ्याउँदै, अरू दललाई विगतका असफलता, वैचारिक भ्रम र अवसरवादमा सीमित देखाउन खोज्नुभएको छ ।

ओलीको दृष्टिमा

कांग्रेस स् ‘टेस्टेड’ तर असफल
ओलीले कांग्रेसलाई प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएको ऐतिहासिक शक्ति माने पनि, अब समाजवाद निर्माण वा समृद्धि दिलाउने नेतृत्व गर्न सक्ने क्षमताहीन दलको रूपमा चित्रित गर्नुभएको छ । सात सालपछि आन्दोलनको रक्षा गर्न नसकेको, पन्ध्र सालको दुई तिहाइ अवसर गुमाएको र बहुमत पाएर पनि आन्तरिक कलहले सरकार ढाल्ने प्रवृत्तिले कांग्रेसलाई असफल साबित गरेको तर्क गरिएको छ।
विशेषतः २०५९ सालमा राजाको कब्जामा प्रजातन्त्र पुग्ने वातावरण सिर्जना गर्नु र नवउदारवादलाई अपनाउनु कांग्रेसको मूल कमजोरी भनेर ओलीले देखाउनुभएको छ ।

माओवादी : ‘प्रचण्डपथ’ बाट ‘समाप्ति’
ओलीको प्रतिवेदनमा माओवादी केन्द्रप्रति अझ कठोर टिप्पणी छ। सशस्त्र युद्ध, जनवादी अधिनायकत्व, जातीय राज्य, सेनामा समायोजन जस्ता प्रयोगहरू सबै असफल भएको उल्लेख गर्दै, माओवादीलाई वैचारिक, संगठनात्मक र चारित्रिक दृष्टिले क्षयीकरण भएको दलका रूपमा प्रस्तुत गरिएको छ। ओलीले माओवादीलाई अहिले ‘सत्ताको लाभ’ लिइरहे पनि, मुलुकको वैचारिक–राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिसकेको निष्कर्ष दिनुभएको छ। अर्कोतर्फ, ‘माओवादी’ नामसमेत आफ्नै नेताहरूका लागि ‘भार’ बनेको उल्लेख गरेर, प्रचण्ड नेतृत्वप्रति तीव्र व्यंग्य प्रहार गरिएको छ ।

पपुलिस्ट शक्ति : ‘प्रश्न मात्रै, उत्तर छैन’
ओलीको प्रतिवेदनमा विशेष आलोचना पपुलिस्ट शक्तिप्रति छ। नाम नलिए पनि प्रत्यक्ष रूपमा रास्वपा लक्षित छ। ओलीले पपुलिस्टहरूलाई ‘तरङ्ग’ मात्र भएको, हातमा समस्या देखाउने तर समाधान नदिने, विचार र संगठनात्मक आधारविहीन शक्ति भएको टिप्पणी गर्नुभएको छ । विगतको राजनीतिक अस्थिरता, एमालेको विभाजन र ‘परमादेश’ को परिणामस्वरूप पपुलिज्म उठेको भए पनि, पपुलिज्म कुनै विकल्प नभएको उहाँको ठहर छ ।

मधेस केन्द्रित दल र राजावादी : ‘सीमित हैसियत’
मधेस केन्द्रित दललाई ओलीले राष्ट्रको नेतृत्व गर्न नसक्ने शक्ति भन्नुभएको छ। उहाँको दृष्टिमा, यी दलहरू सङ्कीर्ण र विभाजनकारी सोचमा अडिएका छन्। त्यस्तै, राजावादी शक्तिहरूलाई ‘जन्मजात श्रेष्ठताको सामन्ती विचार’ बोकेका र ‘धर्मलाई राजनीतिक हतियार’ बनाउन खोज्ने समूहका रूपमा चित्रण गरिएको छ।

एमाले :‘एक मात्र विकल्प’
सम्पूर्ण दलप्रतिको आलोचनापछि ओलीले एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक दृष्टिले मुलुकको भविष्यको सारथीका रूपमा प्रस्तुत गर्नुभएको छ। जनताको बहुदलीय जनवादलाई ‘नेपालकै मौलिक समाजवादी मार्ग’ भन्दै, यसलाई विचार र व्यवहार दुवैमा अन्य दलभन्दा स्पष्ट र शुद्ध भएको दावी गर्नुभयो । ओलीको प्रतिवेदन स्पष्ट रूपमा प्रतिस्पर्धी दलहरूको असफलताको सूची हो, जसको निष्कर्ष सधैँ एउटैमा पुग्छ – एमाले मात्र विकल्प।कांग्रेसलाई ‘टेस्टेड’ भन्दै असफल भन्नु वा माओवादीलाई ‘आउट’ ठहर गर्नु ओलीको दृष्टिमा त ठिक होला, तर समाजमा अझै यी दलहरूको संगठनात्मक उपस्थिति र भावनात्मक आधार बलियो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय