आज राति आकाशमा दुर्लभ खगोलीय दृश्य देख्न पाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति खग्रास चन्द्रग्रहण लाग्दैछ, जुन नेपालसहित एसिया, पश्चिम अष्ट्रेलिया र युरोपका अधिकांश भूभागबाट अवलोकन गर्न सकिनेछ । ग्रहण राति १०:११ बजे स्पर्श (ग्रहण सुरु) भई १:४१ बजे मोक्ष (ग्रहण समाप्त) हुनेछ । यस अवधिमा चन्द्रमा पृथ्वीको छायाँमा पूर्ण रूपमा छोपिने भएकाले चन्द्रमा रातो देखिनेछ । वैज्ञानिक व्याख्याअनुसार, पृथ्वीको वायुमण्डलले सूर्यको निलो प्रकाशलाई तितरबितर पारेर रातो प्रकाश मात्र चन्द्रमामा पुग्ने भएकाले यस्तो दृश्य देखिने हो । यसलाई (ब्लड मून) (रक्तचन्द्र) पनि भनिन्छ ।
खग्रास चन्द्रग्रहणको महत्वपूर्ण समयतालिका यसप्रकार छ :



स्पर्श (ग्रहण सुरु): राति १०:११ बजे
सम्मीलन (पूर्ण ग्रहण सुरु): राति ११:१५ बजे
मध्य (ग्रहणको केन्द्रबिन्दु): राति ११:५६ बजे
उन्मीलन (पूर्ण ग्रहण समाप्त): राति १२:३८ बजे
मोक्ष (ग्रहण अन्त्य): राति १:४१ बजे
ग्रहणको खग्रास अवधि १ घण्टा २३ मिनेट हुनेछ भने सम्पूर्ण ग्रहण ३ घण्टा ३० मिनेट लम्बिनेछ।
नेपालबाट स्पष्ट देखिनेछ
ग्रहण नेपालका विभिन्न भागबाट मौसम अनुकूल भएमा स्पष्ट रूपमा देख्न सकिनेछ । यस्तो खग्रास चन्द्रग्रहणले आम जनमानसमा खगोलीय उत्साह थप्ने विश्वास गरिएको छ । यस वर्षको यो पहिलो चन्द्रग्रहण हो भने अर्को चन्द्रग्रहण आगामी फागुन शुक्ल पूर्णिमाका दिन खण्डग्रासको रूपमा लाग्ने जानकारी समितिले दिएको छ ।
चन्द्रग्रहण कहिले लाग्छ ?
खगोलीय नियमअनुसार चन्द्रग्रहण सधैं पूर्णिमाको रातमा मात्र लाग्छ । त्यसैगरी, सूर्यग्रहण भने औंसीमा मात्र सम्भव हुन्छ । चन्द्रग्रहणमा पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा रहँदा पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्ने गर्दछ ।
वैज्ञानिक र धार्मिक महत्व
चन्द्रग्रहण खगोलविद्हरूका लागि अध्ययनको राम्रो अवसर हो भने धर्म-कर्ममा विश्वास राख्नेहरूका लागि पनि विशेष महत्व राख्दछ । कतिपय हिन्दू धर्मावलम्बीहरू ग्रहणको समयमा भोजन नगर्ने, मन्त्रजप तथा स्नान गर्ने परम्परालाई मान्यता दिन्छन् ।



