सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भइरहेको जेनरेशन जेड जेनजीको आन्दोलन सोमबार दिउँसो उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले कर्फ्यू आदेशसँगै रबरको गोलीसमेत चलाएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन संसद भवनसम्म पुग्दा प्रदर्शनकारीले ढुंगामुढा गर्दै संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरे पनि असर नपरेपछि रबरको गोली प्रयोग गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सुरक्षाकर्मीहरूले भिड नियन्त्रण गर्न प्रयोग गर्ने रणनीति अनुसार प्रदर्शनकारीको घुँडामुनि लक्षित गरी रबरको गोली चलाइएको हो। हालसम्म केहि प्रदर्शनकारी सामान्य घाइते भएको खबर प्राप्त भएको छ, तर आधिकारिक पुष्टि हुन बाँकी छ। यसअघि प्रदर्शन नियन्त्रण गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिसकेको छ। तर जेनजीको भीड संसद परिसरसम्म पुगेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको बताइएको छ।

सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि स्वतःस्फूर्त रूपमा सुरु भएको जेनजी आन्दोलन भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रताको हनन, र राज्यप्रति बढ्दो असन्तुष्टिको अभिव्यक्ति बनिरहेको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण ढंगले अघि बढेको प्रदर्शन संसद भवनको गेट नजिक पुगेपछि हिंसात्मक रूप लिन थालेको देखिएको छ। संसद भवन जस्तो संवेदनशील क्षेत्रमा झडप, ढुंगामुढा र पर्खाल भत्किएको घटनाले सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्। स्थानीय प्रशासनले थप कठोर कदम चाल्ने चेतावनी दिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय