कीर्तिपुर, काठमाडौं — जेन–जी आन्दोलन मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रमा पनि तीव्र रूप लिएको छ। स्थानीय युवा र विद्यार्थीहरूले भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध र सोमबार राजधानीसहित देशका विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको विरोधमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले नगरपालिका कार्यालय वरिपरि र आसपासका सार्वजनिक संरचनामा तोडफोड तथा आगजनी गरेका छन्। केही सडक अवरुद्ध भएका र ढुंगा प्रहारको घटनामा सानो मात्र क्षति पुगेको बताइएको छ। प्रहरीले घटनास्थलमा परिचालन भई स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
कीर्तिपुर नगरपालिका क्षेत्रमा प्रहरीले विशेष गस्ती बढाएको छ। संवेदनशील सार्वजनिक स्थल, सरकारी कार्यालय र प्रमुख सडकमा सुरक्षा व्यवस्था कडा गरिएको छ। प्रहरीका अनुसार, आगामी दिनमा प्रदर्शन नियन्त्रण गर्न र थप हिंसात्मक घटना हुन नदिन सतर्कता अपनाइनेछ। स्थानीयवासीहरूले भने आन्दोलनका क्रममा शान्ति कायम राख्न प्रहरी र प्रदर्शनकारी दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्। विद्यार्थी र युवाहरूले आफ्नो मागहरू पुरा नभएसम्म आन्दोलन जारी राख्ने संकेत गरेका छन्।






