काठमाडौं, भदौ २८ – भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। साथै, मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने निर्णय समेत गरिएको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयस्वरूप उक्त प्रस्तावमा हस्ताक्षर गरेकी हुन्। प्रधानमन्त्रीको यो निर्णयलाई आन्दोलनप्रति सम्बेदनशील र सहानुभूति जनाउने कदमका रूपमा हेरिएको छ।

सरकारको निर्णयबारे जानकारी दिँदै मुख्य सचिव एकनारायण अर्यालले भने, “सरकारले आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरेको छ र हरेक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय प्रधानमन्त्रीद्वारा स्वीकृत गरिएको छ।”

मुख्य सचिव अर्यालका अनुसार जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। त्यस्तै, झडप र दमनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको जानकारी पनि उनले दिएका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध देशभरि फैलिएको यो आन्दोलनमा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। आन्दोलनका क्रममा प्रहरीसँग भएका झडप र विभिन्न स्थानमा भएका आगजनीका कारण मृत्युको संख्या बढ्दै गएको हो। सरकारको पछिल्लो निर्णयले आन्दोलनमा ज्यान गुमाएका परिवारप्रति सहानुभूति प्रकट गर्ने र स्थिति शान्त पार्ने प्रयासको संकेत दिएको विश्लेषकहरू बताउँछन्। यद्यपि, आन्दोलनको जडमा रहेको नीतिगत असन्तोष र अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश जस्तालाई सम्बोधन नगरेसम्म समस्या गहिरिन सक्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय