काठमाडौं । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागले जानकारी दिएको छ । विभागका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिंगरप्रिन्टबाट शवपरीक्षण गरिन्छ ।
फरेन्सिक विभागमा गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका शव छन् । पोस्टमार्टमका लागि पत्र आएकाको मात्र शवपरीक्षण गरिरहेको विभागले जनाएको छ । यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुग्नुभएको छ । अस्पतालमा हाल २२ जना उपचाररत छन् ।






