काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।

त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी÷लुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानूनबमोजि कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

यसैगरी त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय