काठमाडौं । वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको छ ।

वि.सं. २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मनुभएका उहाँ वि.सं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय हुनुभएको थियो ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । वि.सं. २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । पछि वि.सं. २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिनुभयो ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उहाँ सदा क्रियाशील रहनुभयो ।

वि.सं. २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । वि.सं. २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गर्नुभयो । वि.सं. २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेल्नुभयो ।

गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उहाँले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभयो । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर हुनुहुन्थ्यो ।

नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय