काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको बताउनु भएको छ ।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै घिमिरेले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका युवाको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको उल्लेख गर्नुभयो ।
उहाँले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्धन हुने बताउनु भयो । घिमिरेले जेनजी पुस्ताको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्वपूर्ण चेतना दिएको बताउनु भयो ।



विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनःस्थापना भएको स्मरण गर्दै घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण गराउनु भयो ।



