काठमाडौं । पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको आफ्नै हलमा भएको साधारण सभामा सहकारीका अध्यक्ष सानुकाजी खड्गीले अहिलेको अवस्थामा सहकारी बदनाम हुनुमा सहकारीका संचालक राम्रो नपर्दा समस्या आएको बताउनु भयो । उहाँले एकाध सहकारीको बदमासीले अहिले सहकारीलाई हेर्ने दृष्टिकोण फरक बन्दै गएको बताउनु भयो । उहाँले ड्राइभर हेरर मात्र यात्रा गर्दा सुरक्षित भइने हुँदा सहकारी संचालक पनि असल ड्राइभर हुनुपर्नेमा जोड दिनुभयो ।
खड्गीले आफु नेतृत्वको सहकारीमा आजका दिनसम्म त्यस्तो कुनै समस्या नभएको र सहकारीमा पैसा धेरै हुँदा पैसा लगानी गर्ने ठाउँ सम्म नपाएको उल्लेख गर्नुभयो । उहाँले सहकारीले अहिले सदस्यहरुको आम्दानी बढाउनको लागि कपडाको झोला उत्पादन गरेको पनि जानकारी गराउनु भयो । अध्यक्ष खड्गीले सदस्यहरुले बचत रकमको आधारमा कर्जा माग गर्दा कुल बचत रकमको तीन गुणा (१ लाख रुपैयाँ) विना धितो प्रदान गर्दैआएकोमा अहिले व्यवसायीक रुपमा काम गर्दै आएका वा गर्न खोज्ने व्यक्तिलाई ३ लाख रुपैयाँसम्म ऋण प्रदान गर्न निर्णय भएको बताउनुभयो ।



संस्थाले आ.व. ०८१–०८२ को अन्त्यसम्ममा गत वर्षको तुलनामा करिब १३ दशमलव ३६ प्रतिशतमा बृद्धि गरी कुल कारोबार १९ करोड ६७ लाख १२ हजार ७४ रुपैयाँ ६० पैसा कारोबार गरेको छ । गत वर्ष २७ लाख ६३ हजार २ सय ८२ रुपैयाँ ४१ पैसा खुद नाफा गरेको संस्थाले यो वर्ष २० लाख ९५ हजार ४ हजार ६२ रुपैयाँ ५३ पैसा खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।
नवौं साधारण सभाले पुरानै कार्य समितिलाई निरन्तरता समेत दिएको छ ।



