काठमाडौं । नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकास मन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनु भएको हो ।

यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डललाई हेरफेर समेत गर्नुभएको छ । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । ४ सदस्यीय मन्त्रिपरिषद्मा सोमवार ४ जना थपिएपछि ८ सदस्यीय भएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री लगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय