गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा ईश्वरराज पौडेललाई नियुक्त गरेको छ। यसअघि नियुक्त सिडिओ छविराज रिजाल जेनजी आन्दोलनपछि कार्यालय गएका थिएनन्। सोही कारण रिक्त रहेको पदमा मन्त्रालयले पौडेललाई पठाएको हो।
पौडेल २०७४ सालमा बनेको उच्चस्तरीय सुन तस्करी छानबिन समितिका संयोजक हुन्। समितिले ३८ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गर्दै प्रहरी अधिकृतहरूमाथि समेत मुद्दा चलाउन सिफारिस गरेको थियो। समितिको प्रतिवेदन बुझाएपछि पौडेललाई भारतको कोलकाता महावाणिज्यदूतका रूपमा जिम्मेवारी दिइएको थियो। समितिका तत्कालीन सदस्य वसन्त लामाले पछि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। लामा अतिरिक्त महानिरीक्षकको पदबाट अवकाश पाइसकेका छन्।






