नौबिसे–मुग्लिन सडकखण्डका दुई स्थानमा ठूलो पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। धादिङको धुनिवेशी नगरपालिका–१ मा पर्ने ठूलोखोला धार्के–सितापाइला सडक खण्ड र बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोडमा बुधबार राति पहिरो खसेको हो। प्रहरीका अनुसार, बादरेमोडमा खसेको पहिरो ठूलो भएकाले तत्काल पन्छाउन सकिने अवस्था छैन र भोलि बिहानअघि सडक खुल्ने सम्भावना न्यून देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले रातभर वर्षा जारी रहने अनुमान गरेकाले उद्धार कार्यमा थप कठिनाइ भएको छ। यसै कारणले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। यस्तै, मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा हिजोदेखि खसेको पहिरो अझै हटाउन नसकिएकाले यातायात सञ्चालन अवरुद्ध छ। दशैं नजिकिँदै गर्दा लगातार पहिरोका कारण यात्रुहरू बाटोमै अलपत्र परेका छन्।






