काठमाडौँ, असोज ११ – नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरू हुँदैछ। पहिलो खेल राति सवा आठ बजे शारजाहमा हुनेछ।नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय टी–२० शृङ्खला खेल्न लागेको हो। दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिज पछिल्ला १० खेलमध्ये केवल दुईमा मात्र विजयी भएको हुँदा नेपालसँग अवसर रहेको विश्लेषण गरिएको छ।
नेपालले पछिल्ला १० टी–२० मा पाँच जित हात पारेको छ। यस शृङ्खलालाई ऐतिहासिक ‘युनिटी कप’ नाम दिइएको छ, जुन नेपालका लागि आगामी आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ।



शृङ्खलाको दोस्रो खेल सोमबार र तेस्रो मंगलबार हुनेछ। खेलअघि नेपाली कप्तान रोहित पौडेलले पूर्ण सदस्य राष्ट्रसँग पहिलोपटक शृङ्खला खेल्न पाउनु ऐतिहासिक अवसर भएको बताए। त्यस्तै वेस्ट इन्डिजका कप्तान सकिल होसेनले नेपालसँग युनिटी कप खेल्न पाएकोमा खुशी व्यक्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार शृङ्खलाका सम्पूर्ण तयारी पूरा भइसकेका छन्।



