काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १ सय ७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् । घटनस्थापनादेखि आजसम्म उपत्यकामा १ सय ७५ सवारीसाधन दुर्घटना भएको र उक्त दुर्घटनामा परी १ सय ८८ जना गम्भीर घाइते भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अधिकांश दुर्घटना रातिको समयमा भएका छन् । ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको पनि कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई विशेषगरी रातिको समयमा चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि चेकजाँचलाई समर्थन गर्न आह्वान गरेको छ ।
रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने र कतिपय अवस्थामा नशाको अवस्थामा तीव्र गतिमा गाडी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ ।



चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेको चाप, रमाइलो गर्ने उत्साह र समयको हतारोले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले नागरिकलाई अझ बढी सतर्क रहन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।



