काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिकाले नगरवासीको सुरक्षा र आपत्कालीन उद्दारका लागि एक प्रविधिमैत्री सेवा सुरु गरेको छ। नगरवासीलाई कुनै पनि विपद् परेमा मोबाइलबाट तत्काल सहयोग माग्न सकिने गरी ‘ईआरसी (इमर्जेन्सी रेस्पोन्स कन्सोल)’ प्रणाली सञ्चालनमा ल्याइएको हो।
गत जेठ महिनादेखि सञ्चालित यो सुविधा प्रयोग गर्न नगरवासीले ‘कता हो?’ नामक मोबाइल एप डाउनलोड गर्नुपर्छ। आगलागी, स्वास्थ्य समस्या वा सुरक्षाका लागि सहयोग चाहिएमा एपमा भएको ‘प्यानिक बटन’ लगातार ६ सेकेन्डसम्म थिचेर सहायताका लागि अनुरोध गर्न सकिनेछ।



नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका वरिष्ठ शाखा अधिकृत भद्रा अर्यालका अनुसार, बटन थिचेपछि नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्र (ईआरसी) मा साइरन बज्छ। साथै, समस्या परेको व्यक्तिको सम्पर्क नम्बर र लोकेसन (डिजिटल ठेगाना) सहितको जानकारी तत्काल प्राप्त हुन्छ। जानकारी प्राप्त हुने बित्तिकै नगर प्रहरीको टोलीलाई उद्दारका लागि तुरुन्तै घटनास्थल पठाइने व्यवस्था मिलाइएको छ।
शाखा अधिकृत अर्यालले नगरपालिकाको आफ्नै एप सञ्चालनमा नआउन्जेलसम्म ‘कता हो?’ एपमार्फत यो सेवा दिइएको र भविष्यमा अफलाइनबाट पनि सुविधा दिने तयारी भइरहेको बताउनुभयो।
यो प्रणालीको सबैभन्दा ठूलो विशेषता भनेको व्यक्ति बोल्न नसक्ने अवस्थामा हुँदा पनि यसले सञ्चार गर्न र सहायता प्रदान गर्न मद्दत गर्नु हो। हालसम्म यो प्रणालीबाट सात जनाको उद्दार भइसकेको छ। नगरपालिकाले यो प्रणालीबारे जानकारी दिन वडा-वडामा सचेतना अभियान चलाउने तयारी गरिरहेको छ।



