काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिकको संज्ञा दिएका छन् । उनले संसद विघटन नै असंवैधानिक भएको बताएको तर्क समेत गरेका छन् । एमालेको आजबाट ललितपुरमा सुरु भएको दसौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक सरकारले घोषणा गरेको निर्वाचनलाई लुरुलुरु मान्नुपर्ने जरुरी नभएको टिप्पणी समेत गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको दाबी समेत गरेका छन् । ओलीले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड समेत दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । महाधिवेशनको मिति केन्द्रीय कमिटी बैठकले औपचारिक रुपमा टुंगो लगाउने छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।






