भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ । सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताउनुभएको हो । उहाँका अनुसार २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ । उनीहरू कोबाट मारिए भन्ने प्रश्न समेत उठेको छ । जेन–जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैंले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ । यस्तै सिंहदरबार जोगाउन नसकेको विषयमा आलोचना भएपछि थापाले राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद भएको तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक भएको भन्दै लेस देन लिथल नियन्त्रणका उपाय अपनाएको जनाएको छ ।
यस्तै आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको थियो । विवरण अनुसार विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ भने आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए । नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।






