काठमाडौं । कवि शिवप्रसाद श्रेष्ठ (पःमाय्) को एकैसाथ दुई वटा कविता संग्रह लोकार्पण भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट निवासी कवि श्रेष्ठको ‘आमाको स्वर र नेपाल भाषाको “ह्याँउगु निभाःया जः” (चिनाखँ मुना) नामक कृति शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । थानकोटस्थित मोर्डन पार्टी भेन्यूमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक डा. योगेन्द्र प्रधान, बागमती प्रदेशका उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सामूहिक रुपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले घरमा आराम गर्ने उमेरमा कवि श्रेष्ठले कृति प्रकाशन गरेर थानकोटको नाम चिनाउन सफल हुनुभएको भन्दै खुशी व्यक्त गर्नुभयो ।




यसैगरी चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले कवि श्रेष्ठले दुई वटा पुस्तक एकैपटक लोकार्पण गरेर आफ्नो प्रस्तुतीलाई मूर्तरुप दिएको बताउनु भयो । उहाँले कवि श्रेष्ठको लेखन शैली आगामी दिनमा अझ बढी सशक्त र प्रगतीशिल तर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख गिरीले आफू पनि थानकोटकै वासिन्दा भएकोले श्रेष्ठका कृतिमा उल्लेख गरिएका शब्दहरुले आफूलाई पूराना दिनको स्मरण गराएको बताउनुभयो । प्रमुख गिरीले चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहनुभएका कवि तथा साहित्यकारहरुले सक्रिय सहभागिता जनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

कवि श्रेष्ठद्धारा लिखित दुई वटा कृतिमा एउटामा ८७ वटा र अर्कोमा ८१ वटा कविता संग्रहित छन् । श्रेष्ठका कविताहरुमा देशभक्ति, मातृप्रेम, मातृभाषा, धार्मिकलगायतका विषयवस्तु समेटिएका छन् । २०२० साल देखि २०३२ सालमा चन्द्रागिरिको श्री कृष्ण प्राथमिक विद्यालय, २०३२ सालदेखि २०३५ सालसम्म तत्कालिन बलम्बु प्राथमिक विद्यालय र २०३५ सालदेखि २०५७ सालसम्म र भीम प्राथमिक विद्यालयमा शिक्षण पेशामा संलग्न श्रेष्ठले तबलाको प्रशिक्षण समेत दिदै आउनु भएको छ ।


कार्यक्रममा विभिन्न मौलिक बाजा बजाइनुका साथै, सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो भने पुस्तक प्रकाशनदेखि लोकार्पणसम्ममा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।



