काठमाडौँको माइतीघर मण्डलामा प्रशासनिक अनुमति बिना प्रदर्शन गर्न पुगेका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो विभिन्न समूहका व्यक्तिहरू अनुमति नलिई प्रदर्शनका लागि माइतीघरमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।



उनका अनुसार प्रशासनले पूर्वसूचना दिँदै अनुमति बिना कुनै सभा वा प्रदर्शन गर्न नपाइने जनाएको थियो। तर पनि केही समूह माइतीघरमा भेला भएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ।
“प्रशासनको अनुमति बिना कार्यक्रम गर्न नदिने भनिएको थियो। तर माइतीघरमा समूह उपस्थित भएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ,” एसपी भट्टराईले भने। “त्यहाँ पहिलेबाटै बसेका अन्य समूहहरूसँग मनमुटाव हुने अवस्था देखिएपछि यो कदम चालिएको हो।”
हालैका दिनमा माइतीघर क्षेत्रमा विभिन्न जेनजेड (Gen Z) समूह र नागरिक समूहहरूले सरकारका नीतिहरूविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन्। उनीहरूले सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलन जारी राख्ने बताएका छन्।
प्रहरीले नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।



