काठमाडौं । कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी संघले ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारी खेतीमा प्रयोग गरिने रासायनिक विषादीले माछाको बृद्धि घट्नुको मुख्य कारण रहेको बताएको छ ।

करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४ सय वटा केज (पिँजरा) राखेर प्रतिघनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको छ । पछिल्ला वर्षमा माछाको औसत तौल र संख्या दुवै घट्दो क्रममा रहेको इन्द्रसरोवर मत्स्य व्यवसायी संघका उपाध्यक्ष विकास बलामीले जानकारी दिनुभयो ।

बलामीले तरकारी खेतीमा प्रयोग गरिएको कीटनाशक र रासायनिक मल वर्षाको समयमा खोलानाला हुँदै तालमा मिसिदा माछाको प्राकृतिक खाना (माछाले खाने सुक्ष्म जीवहरू जसलाई प्लाङ्कटन भनिन्छ) र सूक्ष्म जीवमा असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा नबढ्ने बताउँछन् । विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन् । विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र बृद्धि दुवैमा कमी आएको छ ।

ताल वरपरका गाउँमा स्थानीय समुदायले माछापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । माछा बिक्रीबाट आउने आम्दानीले गाउँको विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा ठूलो योगदान पुर्याउँदै आएको छ । माछाको आकार घटेपछि कृषकहरु चिन्तित छन् ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोज यादवले विषादीले माछाको प्राकृतिक खाना र शरीरमा क्षति पुग्ने भएकाले उत्पादन र तौलमा कमी आएको जानकारी दिनुभयो ।

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा व्यावसायिक तरकारीखेती तीव्र गतिमा फैलिँदै गएको छ । किसानले उत्पादन बढाउने उद्देश्यले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गर्छन्, जसले पानी र माटोमा दीर्घकालीन असर पुगेको छ ।

मत्स्यविकास केन्द्र र संघले ताल वरपरका किसानलाई जैविक मल र पर्यावरणमैत्री खेती प्रणाली अपनाउन प्रोत्साहन गर्ने योजना बनाउन जरुरी छ । साथै, तालमा मिसिने पानी शुद्धीकरण गर्ने प्रविधि पोखरी निर्माण भएमा यस्तो समस्याबाट समाधान हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय