काठमाडौं । छाडा गाई रेखदेखका लागि दमौलीमा गौ संरक्षण केन्द्र आग्रस्थानमा छ । जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिका–१० दुम्सीमा गौ संरक्षण केन्द्र संचालनमा ल्याइएको हो ।

वि.सं. २०७६ साल देखि सञ्चालनमा रहेको गौ संरक्षण केन्द्र संचालनका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले संरक्षण केन्द्रमा हाल १ सय ५० भन्दा बढी गाई रहेका र यसको व्यवस्थापन जन्मदिन, वैवाहिक वर्षगाँठको अवसर पारेर व्यक्ति तथा संस्थाहरूले दिने सहयोगबाट हुँदै आएका बताउनु हुन्छ ।

नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहनुभएका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापनाको प्रारम्भ गरेको थियो । मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको छ ।

गाईले दूध दिन छाडेपछि गाईलाई कहाँ लैजाने भनेर समस्यामा मानिस यसबाट लाभान्वित भइरहेका छन् । संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोग गर्नेबारे योजना बनिरहेको संरक्षण समितिले जनाएको छ । ‘गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धहरूको आहारका रूपमा प्रयोग गरिएको छ । छाला काडेर राखिदिन्छौँ, गिद्ध आएर खान्छन् । हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ । अब भने हड्डीबाट पनि आम्दानी लिने सोचका साथ अगाडि बढेका छौँ, त्यसका लागि उपकरण खरिद गर्ने तयारी छ’ सापकोटा भन्नुहुन्छ ।

संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र केन्द्रबाट एक गरी चार जना कर्मचारी नियुक्त गरिएको छ । नगरपालिकाले परालका लागि मासिक पाँच लाख रुपैयाँ सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय