काठमाडौं । चन्द्रागिरि नगरपालिकाका सामुदायिक विद्यालय तथा क्याम्पसलाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदानका लागि नगरपालिकाले विशेष ध्यान दिंदै आएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ मा दहचोकमा रहेको रहेको श्रीकृष्ण माध्यमिक विद्यालयलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट बोर्ड, स्मार्ट टिभी, ल्यापटप र प्रिन्टर प्रदान गरेको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु निजी विद्यालयका विद्यार्थीसँग केही कुरामा कमी नहोस् भन्ने उद्देश्यले विद्यालयलाई नगरपालिकाले सहयोग गरिरहेको बताउनु भयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालय भौतिक संरचना देखि पठनपाठनका लागि चाहिने आवश्यक सामग्री निजी विद्यालय भन्दा कुनै पनि कुरामा कमी नभएको स्पष्ट पार्नुभयो । प्रमुख गिरीले नगर भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय निजी विद्यालयको दाजोमा केहीमा पनि कमजोर नभएको भन्दै आफ्ना साना नानीहरुलाई निर्धक्क भएर सामुदायिक विद्यालयमा पढ्न पठाउन आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सामुदायिक विद्यालय नगरको शान भएको बताउनु भयो । उहाँले आफु पनि पहिले शिक्षण पेशाबाटै आएको भन्दै पहिले र अहिले सामुदायिक विद्यालयमा हुने पठान पाठन आकाश पातालले फरक भएको बताउनु भयो । उहाँले केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा स्रोतसाधनमा कमी हुँदा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भन्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कमजोर देखिएपनि अहिले त्यस्तो अवस्था नरहेको दाबी गर्नुभयो । उहाँले अहिले निजी विद्यालयका विद्यार्थी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीच जुनसुकै क्षेत्रमा प्रतिष्पर्धा गराए पनि कमजोर नहुने बताउनु भयो । उहाँले नगरपालिकाले यसअघि पनि सामुदायिक विद्यालय तथा क्याम्पसलाई स्मार्ट बोर्ड २ थान, स्मार्ट टिभी २ थान, ल्यापटप २ थान र प्रिन्टर १ थान प्रदान गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडाअध्यक्ष हरिश्याम रानामगर, वडा सदस्य केशव गिरी, वरिष्ठ विद्यालय निरीक्षक प्रमुख बुद्धिप्रसाद भट्ट, विद्यालय व्यस्थापन समितिका अध्यक्ष रामहरि रिजाल, प्रधानाध्यापक खड्क श्रेष्ठ, शिक्षकशिक्षिका, विधार्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय