काठमाडौं । एक जमाना यस्तो पनि थियो मानिस मकैको होस् या कोदोको ढिँडो लुकाएर खान्थे । ढिँडो खाने घरमा छोरी पनि दिंदैनन् भन्ने थियो । ढिँडो खाएको भनि खुलेआम भन्न रुचाउँदैथे । शहरको त कुरा छोडौं गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो ।
त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्छ ।



अहिले जमाना बदलिएको छ । मानिस गाउँघरको त के कुरा शहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकाएर नभई रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भन्दै तस्बिर पोष्ट गर्छन् ।
घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाव दिन्छन् ।
पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बाेहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् ।



