काठमाडौँ — चन्द्रागिरि नगरपालिकाको वडा नं–१४ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ। विशेष कार्यक्रमसहित आयोजित घोषणा सभामा स्थानीय जनप्रतिनिधि, समुदायका अभिभावक, विद्यालयका प्रतिनिधि तथा बाल अगिद का सदस्यहरूको उपस्थितिमा वडालाई बालमैत्री क्षेत्रका रूपमा घोषणा गरिएको हो। घोषणा सभामा बोल्दै वडाध्यक्षहरूले बालबालिकाको अधिकार संरक्षण, उनीहरूको सहभागिता सुनिश्चित गर्ने तथा शिक्षादेखि स्वास्थ्यसम्मका सेवामा पहुँच सुधार्न वडा प्रतिबद्ध रहेको बताए। बालमैत्री वडा बनाउनका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद तथा सृजनशीलतासम्बन्धी विभिन्न मापदण्ड पूरा गरिएको जानकारी पनि कार्यक्रममा दिइयो।
कार्यक्रममा सहभागी बालबालिकाले गीत, कविता तथा सांस्कृतिक प्रस्तुति दिएर आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। अभिभावक तथा शिक्षकहरूले पनि बालमैत्री वातावरणका फाइदा र भविष्यमा आवश्यक सहयोगका विषयमा आफ्ना धारणा राखे। चन्द्रागिरि नगरपालिकाले क्रमिक रूपमा सबै वडालाई बालमैत्री बनाउन लक्ष्य राखेको बताउँदै नगरप्रमुखले आगामी दिनमा बालसुरक्षा, मनो–सामाजिक सहयोग, सुरक्षित खेलमैदान, र बाल–सहभागिता कार्यक्रमहरूलाई अझ सुदृढ बनाइने उल्लेख गरे। बालमैत्री वडा घोषणा संगै चन्द्रागिरि–१४ मा बालमैत्री बजेट, थप कार्यक्रम र नीतिगत सहयोगमार्फत बालबालिकाको सर्वांगीण विकासलाई प्राथमिकता दिइने छ।






