काठमाडौं । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । विभागका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् । ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ । यसलाई ग्रीड भनिन्छ । यसमा क्यामेरा १५ रात राखेपछि अर्को ग्रीडमा सारिने छ । दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाईएको छ । त्यहाँ भित्र पनि तीन वटा ब्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ ।
निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरुसँग भएका एक हजार १०० क्यामेरा गणनामा प्रयोग गर्न लागेको विभागले जनाएको छ । क्यामेरा पुरानै प्रयोग गरिने भएकाले गणनामा करिव २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ । सरकारी र दातृ निकायहरुको सहयोगमा गणना गर्न लागिएको हो । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राखिने छ ।



बाघ गणना सम्पन्न भए पछि गैंडा गणना गर्ने तयारी छ । गत वर्ष गैंडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।



