काठमाडौं । बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रमा आलेमगरलाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्याका कारण काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएकी आलेमगर आज भारत प्रस्थान गर्नुभएको हो । विगत केही महिनादेखि अस्वस्थ आलेमगरलाई पछिल्लो समय कलेजोमा समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकहरुले भारत जान सुझाव दिएका थिए ।
जनसेवालाई नै आफ्नो जीवनको मूलमन्त्र मानेर चौबिसै घण्टा जनतामाझ खटिरहने एक लगनशील नेतृ आलेमगरको स्वास्थ्य अवस्थाले उनका समर्थक, पार्टी र समग्र चन्द्रागिरि, बागमतीका जनतालाई चिन्तित बनाएको छ ।
आलेमगर २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेश सभा सदस्यमा काठमाडौं क्षेत्र नं १० ख बाट निर्वाचित हुनुभएको हो । आलेमगरले प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समेत बहन गरिसक्नुभएको छ ।






