पाकिस्तानका युवा अलराउण्डर माज सदाकत र अनिल शाहको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ मा पहिलो जित हात पारेको छ। जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। माजले ३० बलमा ६३ रन बनाए, जसमा ६ चौका र ४ छक्का समावेश थिए। उनले मात्र २४ बलमै अर्धशतक प्रहार गरे। यसअघि सुदूरपश्चिमविरुद्ध ड्रप भएका अनिल शाहले वान डाउनमा आएका थिए र ६१ रन बनाए। दुबै खेलाडीको साझेदारी ७९ रन रहेर जीतको आधार तयार पार्यो।



जनकपुरका लागि माज सदाकत र आसिफ शेखले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे। आसिफ १७ बलमा १८ रन बनाएर छैटौं ओभरमा आउट भए। त्यसपछि माज र अनिलले दोस्रो विकेटका लागि शानदार साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए। अन्तिममा आदित्य महताले १८ रन अविजित जोड्दै टीमलाई सुरक्षित विजय दिलाए।
बलिङतर्फ चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १-१ विकेट लिए। चितवनको ओपनर जोडी, डाविड मालान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। मालानले ८० रन र अर्जुनले ५२ रन बनाए। तर लगातार विकेट गुम्दा चितवन लक्ष्य पछ्याउन सकेन। यस जीतसँगै जनकपुरले ५ खेलबाट २ अंक जोड्दै प्लेअफको सम्भावना कायम राखेको छ। चितवनको यो तेस्रो हार हो र उनीहरु ५ खेलमा ४ अंकसहित चौथो स्थानमा छन्।



