काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ ले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसासम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।




वडा नं. २ का कार्यबाहक अध्यक्ष लवराम सुुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले घरेलु हिंसा मात्र नभइ महिलाविरुद्ध हुने साइबर सुरक्षाबारे पनि चेतना जगाउन आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न समुदायमा भएका हिंसाविरुद्धको अभियानलाई सशक्त बनाउन नगरपालिकाले थप कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो ।

नगरउपप्रमुख बसन्ती श्रेष्ठले अभियान १६ दिनमात्र नभइ ३ सय ६५ दिन नै सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । उपप्रमुख श्रेष्ठले हिंसाका विभिन्न रुप हुने बताउँदै राजनीतिक, आर्थिक, सामाजिक हिंसा हुने पनि बताउनु भयो । श्रेष्ठले केहीले मात्र हिंसा नगरेपनि यस्तो अभियान सञ्चालन गर्नै नपर्ने बताउनु भयो । हिंसातर्फ नभइ आर्थिक उपार्जनतर्फ लाग्न आग्रह गर्दै नगरपालिकाले आर्थिक उपार्जनका लागि दिएको तालिमहरुलाई व्यवहारमा उतार्न सुझाव दिनु भयो । त्यस्ता व्यक्तिलाई सहयोग गर्न नगरपालिका हरदम तयार रहेको पनि उहाँको भनाइ थियो ।

यसैगरी कार्यपालिका सदस्य सानुकान्छा परियारले समाजमा लुकेका हिंसालाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला मात्र नभइ पुरुष पनि हिंसामा पर्ने गरेको बताउँदै कार्यस्थल, कार्यालय वा जहाँ कँही लैंगिक हिंसा हुन्छ भने त्यसलाई तत्कालै समाज सामू ल्याउनुपर्ने बताउनुभयो । पीडालाई समयमै उजागर गर्न सके हिंसाविरुद्धका अभियानले साकार रुप लिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यबाहक वडा अध्यक्ष लवराम सुवेदीले आफ्नो टोल समाजमा कोही हिंसामा परेको भए निर्धक्क भएर सम्बन्धित निकायममा जानकारी दिन सुझाव दिनुभयो । सुवेदीले हिंसाले शारीरिक तथा मानसिक क्षति गर्नसक्ने भएकाले हिंसा नलुकाउन सुझाव पनि दिनुभयो ।

वडा सदस्य तथा कार्यपालिका सदस्य चन्द्र कुमारी गिरी बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी प्रभाव नागढुंगाका प्रमुख अजयजंग थापा, चन्द्रागिरि नगरपालिकाको सामाजिक विकास शाखाका अनिता पौडेल, न्यायीक समितिकी सदस्य सीता सत्यालले लैंगिक हिंसाबारे प्रशिक्षण दिनुभएको थियो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसाविरुद्ध १६ दिने अभियान मनाउने गरिन्छ ।



