नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । यादवले कांग्रेससहित ६ दलको समर्थनमा दाब पेश गर्नुभएको हो । लामो रस्साकस्सीपछि आज दिउँसो ६ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो ।



नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीले यादवलाई समर्थन गरेका हुन । गठबन्धनभित्र कांग्रेस पहिलो र जसपा दोस्रो पोजिसनमा रहेको छ । यसले जसपा कांग्रेसलाई नेतृत्व दिएरै भए पनि सभामुख र सबभन्दा बढी बजेट रहेको भौतिक पुर्वाधार विकास मन्त्रालय लिने रणनीतिमा रहेको बताइएको छ । जनमत र माओवादी केन्द्रलगायतका दलहरू पनि महत्त्वपूर्ण मन्त्रालय लिने दाउमा छन् । मधेश प्रदेशमा अहिले जनमत पार्टीको उपसभामुख यथावत् छ ।



