भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा शनिबार मध्यराति एक नाइट क्लबमा आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार, नाचगान चलिरहेको बेला क्लबमा इलेक्ट्रोनिक फायरक्राकर प्रयोग गर्दा आगो फैलिएको थियो। आगोले क्लबभित्र रहेका धेरै मानिसहरूलाई फसेर मृत्यु हुन पुग्यो। घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन्। गोवा सरकारको विवरण अनुसार मृतकमध्ये चार नेपाली नागरिक छन्। नेपाली मृतकको नाम चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेको छ। शव नेपाल पठाउने प्रक्रिया सरकारले अघि बढाउने जनाएको छ।
क्लबभित्र भीड अत्यधिक रहेको र साँघुरा बाटोका कारण दमकल पुग्न ढिला भएको कारण आगो भयावह बन्न पुग्यो। धेरै मानिसहरू भुइँतलामा र भान्सा क्षेत्रमा फसेर जलेर वा धुँवाले निसासिएर मरेको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ। घटनापछि गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ। मालिकहरू सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता भएको छ। नियमविपरीत क्लब सञ्चालन अनुमति दिएको आरोपमा तीन वरिष्ठ सरकारी अधिकारीहरूलाई निलम्बन गरिएको छ।



गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतक परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उनले अनुमति बिना सञ्चालन हुने क्लब र भीडभाड हुने स्थलको अडिट गर्ने प्रक्रिया पनि सुरु हुने जानकारी दिएका छन्। प्रत्यक्षदर्शीहरूको अनुसार, आगो लाग्ने केही मिनेटमै क्लबको संरचना पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीमा परेका ग्यास सिलिण्डर समेत विष्फोट हुँदा घटनाको भयावहता थपिएको थियो।



